१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

सरकार जोगाउन कांग्रेसले समर्थन गर्ने

455
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो ।

आफूहरूसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको थियो । शुक्रबार भने कांग्रेसका सांसदहरु उपस्थित भएर जम्मकट्टेलको पक्षमा मत दिने निर्णय गरिसकेका छन् ।

बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रको निर्णय अनुसार जम्मकट्टेललाई विश्वासको मत दिएपनि ठूलो दलको हैसियतमा मुख्यमन्त्री आफुले पाउनुपर्ने अडान भने यथावत रहेको बताउनुभयो ।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । राप्रपा बाहिरिएपनि अहिलेसम्म नेकपा (एमाले) भने सरकारबाट बाहिरिएको छैन ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । जसअनुसार एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाउनु भएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।