
चिरञ्जीवी नेपाल (अधिवक्ता)
कुनैपनि व्यक्तिले आफ्नो स्वामित्वमा रहेको आफ्नो घर भाडा बापत रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिको लागि अन्य व्यक्तिलाई बसोबास गर्न दिनु बहालमा दिनु हो ।
बहालमा लिए दिएको हुनको लागि बहालमा अर्थात भाडामा लिनेले उक्त घर उपभोग गरेको हुनु पर्छ भने घरधनीले भाडा बापत रकम प्राप्त गरेको हुनुपर्छ । घर भन्नाले सिंगो घर, घरको तल्ला, कोठा र घरले चर्चेको जग्गा जमिनलाई समेत जनाउँछ । निश्चित समयका लागि रकम या भाडा तिरेर अर्काको घरमा बस्नु बहालमा बस्नु हो । घरधनी र भाडामा बस्न चाहने व्यक्तिकाबीच विभिन्न शर्तहरु राखेर एकापसमा घर बहालमा लिनेदिने गरि सम्झौता हुन्छ भने त्यो घरबहाल सम्झौता हो । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ को दफा ३८३ देखि दफा ४०५ सम्ममा यस सम्बन्धी व्यवस्था गरिएको पाइन्छ ।
दफा ३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि ‘घर’ भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात समेत सम्झनु पर्छ भनिएको छ । मानव बसोबास गर्नका लागि स्वास्थ्य तथा सुरक्षाका दृष्टिले अनुपयुक्त घर बहालमा लिनु दिनु गर्नु नहुने व्यवस्था दफा ३८४ मा गरिएको छ । व्यक्तिहरुकाबीच घर बहाल लिँदा दिँदा बहाल अवधि बढीमा ५ बर्षको हुनुपर्ने छ तर व्यापारिक प्रयोजनको लागि घर बहाल दिएकोमा सम्झौतामा उल्लेख गरेबमोजिम हुने व्यवस्था दफा ३८५ मा गरिएको छ ।
कुनै व्यक्तिले घर बहालमा दिँदा निम्न कुराहरु खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्छ । जसमा घर बहाल लिने र दिने व्यक्तिहरुको पुरा नाम ठेगाना, नागरिकता नम्बर र विदेशी व्यक्ति भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, बहाल लिने प्रयोजन, बहाल सुरु र कायम रहने समय, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रकृया, घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोनको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी, बीमा, घर छाड्ने र हटाउने, बहालमा लिएको घर अन्य व्यक्तिलाई पुनः बहाल दिन पाउने, नपाउने र आवश्यक लागेका अन्य कुराहरु सम्झौतामा स्पष्ट रुपमा उल्लेख गरिनु पर्छ । यसकासाथै मासिक बीस हजार रुपैयाँ सम्मको लेनदेनमा लिखत सम्झौता आवश्यक छैन, भने बहाल बस्ने व्यक्तिको फोटो टाँस गर्नुपर्ने र त्यस्तो सम्झौतामा कम्तीमा २ जना साक्षीको सहिछाप समेत हुनुपर्ने व्यवस्था संहिताको दफा ३८६ मा गरिएको छ ।
घर बहालमा लिनेदिने गर्दा सम्झौता गर्दाकै बखत घरधनिले बहाल दिने घरको कुनै खोट वा कमजोरी भएमा त्यसको विवरण बहालमा लिनेलाई अनिवार्य रुपमा दिनुपर्छ भन्ने व्यवस्था दफा ३८७ ले गरेको पाईन्छ ।
कुनै व्यक्तिलाई घर बहालमा दिँदा घरमा मालसामान वा कुनै वस्तुसमेत रहेछ भने बहालमा दिनु अघि घरमा रहेको सामान वा वस्तु के कस्तो अवस्थामा रहेका छन त्यसको विवरण तयार पार्नु पर्छ । यदि बहालमा लिनेले त्यस्तो सामान प्रयोग गर्ने भए त्यस्तो सामान घर बहालमा लिनेले बुझी लिएर त्यसको भर्पाइ घरधनीलाई दिनुपर्ने व्यवस्था दफा ३८९ मा गरिएको छ ।
घरधनीले बहालमा बस्ने व्यक्तिलाई सम्झौतामा उल्लेख भएबमोजिम घर उपयोग गर्न दिनुपर्छ । सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक पानी विजुली र ढल निकास तथा सरसफाईको व्यबस्था घरधनीले नै गर्नुपर्छ । बहालमा बस्नेलाई सोही घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा हैरानी वा अशान्ति भएमा त्यसलाई रोक्ने कार्य गर्नुपर्छ । शान्त वाताबरणको व्यबस्था मिलाउने साथै सम्झौतामा उल्लेखित सबै कुराहरु पालना गर्नुपर्छ भनी घरधनीको दायित्वका बारेमा दफा ३८९ मा व्यबस्था गरिएको छ ।
सम्झौता बमोजिम निर्धारित समयमा बहाल रकम बुझाउनु पर्ने, बहालमा लिएको घरलाई आफ्नै घर सरह मानी सरसफाईका साथै उचित र मनासिव तवरले हेरचाह र संरक्षण तथा सुरक्षा गर्नुपर्ने, बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति हैरानी वा असुरक्षा हुने कार्य गर्न नहुने र सम्झौतामा उल्लेखित कुराहरु पालना गर्नुपर्ने भनी बहालमा बस्नेको दायित्वको सम्बन्धमा दफा ३९० मा व्यबस्था गरीएको छ ।
बहालमा लिनेले घरधनीसँग भएको सम्झौतामा लेखिएको तरिका र प्रकृया बमोजिम घरधनीलाई बहाल बुझाउनुपर्छ तर कुनै तरिका र प्रकृया उल्लेख रहेनछ भने प्रत्येक महिना भुक्तान भएको ७ दिन भित्र बहाल बुझाउनु पर्छ, त्यसरी बुझाउँदा नगद वा चेक जे बुझाए पनि हुन्छ । घरधनीले नगद बुझेकोमा भने बुझेको भर्पाई गरी बहाल बुझाउनेलाई दिनुपर्छ भन्ने व्यवस्था दफा ३९१ मा गरिएको छ । बहालमा लिने र दिनेका बीच विवाद नहोस र व्यवहारिक सहजता कायम होस भन्नका लागि यस्तो व्यवस्था गरिएको हो ।
जसले आय आर्जन गर्छ, उसले कर तिर्नुपर्छ । त्यसैले घरबहाल सम्झौतामा नै कर कसले तिर्ने हो स्पष्ट उल्लेख हुनुपर्छ । यदि उल्लेख भएको छैन भने कर तिर्ने दायित्व घर धनीकै हुने व्यवस्था दफा ३९२ ले गरेको छ ।
औद्योगिक या व्यवसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनु पर्ने हुन्छ । औद्योगिक वा व्यवसायिक प्रयोजन भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेञ्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखि व्यापार वा व्यवसाय गर्ने कार्य बुझिन्छ । प्राकृतिक प्रकोप वा अशान्ति, हुलदंगा, आगजनी जस्ता मानवीय कारणले हुनसक्ने क्षतिबाट बचाउनको लागि बीमा गर्नुपर्ने व्यवस्था दफा ३९३ मा गरिएको छ ।
सम्झौतामै बहाल लिने दिने मध्ये कसले घरको मर्मत सम्भार गर्ने हो त्यसबारेमा स्पष्ट उल्लेख भएकोमा सोही बमोजिम र कुनै कुरा उल्लेख भएको रहेनछ भने बहालमा लिएको व्यक्तिले नै घरको मर्मत सम्भार गर्ने दायित्व हुन्छ भन्ने व्यवस्था दफा ३९४ मा गरिएको छ ।
घर बहाल सम्झौता हुँदा बहाल लिनेले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने भन्ने उल्लेख भएको रहेछ भने बहालमा दिने र लिनेबीच भएको सम्झौताको अधिनमा रही पुनः बहालमा दिन सक्ने तर सो सम्झौता विपरीत हुनेगरी बहालमा दिन नसक्ने कुरा दफा ३९५ मा व्यवस्था गरिएको छ भने घरधनीको स्वीकृति विना बहालमा लिएको घरको संरचना भत्काउने, बिगार्ने गरी संरचनामा हेरफेर गर्नु नहुने कुरा दफा १९६ मा गरिएको छ ।
घर बहाल सम्झौता गरिसकेपछि सम्झौता विपरित घर प्रयोग गर्नु नहुने व्यवस्था दफा ३९७ मा गरिएको छ । जुन प्रयोजनको लागि घर बहालमा लिएको हो सो कामको लागि निजलाई घर नचाहिने भई घर छाड्न परेमा बस्ने व्यक्तिले कम्तीमा ३५ दिन अगावै घरधनीलाई लिखित सूचना गर्नु पर्छ ।
यदि घर बहाल लिने दिने सम्झौतामा अन्यथा उल्लेख भएमा सोही बमोजिम हुने व्यवस्था दफा ४०० मा गरिएको छ । घरबहालको अवधि समाप्त भएमा वा बहालमा बस्ने व्यक्तिले सम्झौता विपरित कार्य गरेमा पनि घरधनिले बहालमा बस्नेलाई घरबाट हटाउन सक्ने व्यबस्था दफा ४०१ ले गरेको छ । यसरी मुलुकी देवानी संहिता २०७४ ले घर बहालका सम्बन्धमा व्यवहारिक रुपमा सहज हुने गरी छुट्टै र स्पष्ट कानूनी व्यबस्था गरेको छ ।
यसरी कानूनले निर्धारण गरेका व्यवस्थाहरुलाई आत्मसात गरेर घर बहाल सम्झौता गरिन्छ अर्थात घर भाडामा लिनु दिनु गरिन्छ भने यस सम्बन्धमा विवाद पर्ने डर हुँदैन ।
प्रतिक्रिया दिनुहोस्