१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर


273
Shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो ।

प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गर्नुभयो ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।