
काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ ।
अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो ।
छनोटमा नेपाल समूह सी मा रहेको थियो । नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्ने छ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । दुवै खेल साँझ ६ बजे सुरु हुने छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।
एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ । छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्