१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरणले वायुसेवा निगमलाई स्पष्टीकरण सोध्यो


1.3k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल वायुसेवा निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो ? भनेर स्पष्टीकरण सोधेको हो ।

नेपाल र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको ५ र काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ ।

तर, निगमले मार्च २८, २९, ३० र अप्रिल १ मा काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा यात्रु चार्टर्ड उडानको अनुमति मागेपछि प्राधिकरणले प्राविधिक, व्यापारिक वा सञ्चालक कुन कारणले यस्तो चार्टर्ड उडानको माग भएको हो ? भनेर स्पष्टीकरण सोधेको हो ।