१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै


104
Shares

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा बिहीबार वार्ता हुँदैछ ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।

छलफलमा सरकारी समितिका तर्फबाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने जनाइएको छ ।

सरकारले मिटरव्याजी पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो ।

वार्तामा सरकारी टोलीमा गृह मन्त्रालयकी सहसचिव शर्मा, मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली रहनेछन् भने पीडित पक्षको टोलीमा मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।