
काठमाडौं । रामनवमी पर्वका अवसरमा बिहीबार बिहानैदेखि देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको छ ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।
राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ ।
राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्