
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पुर्याउन स्थानीय तहले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
बिहीबार ‘अपाङ्ता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि स्थानीय तहहरुले भुमिका खेल्नुपर्ने बताउनुभएको हो ।
उहाँले पीडितहरुले कानूनी सहायता खोज्दापनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो । उहाँले कानूनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानूनी प्रक्रियामा जान उत्साहीत बनाउनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक तथा अर्धन्यायिक निकायमा जानका लागि सल्लाह, सुझाव दिनुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायबाट विमुख गराउनु नहुने उहाँले बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घर परिवार भित्रैबाट पनि असहयोग भएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । परिवारले न्यायिक निकायसम्म पुर्याउन सहयोग गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष मगरले सार्वजनिक स्थानका भौतिक संरचनाहरुपनि अपाङ्गतामैत्री हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्