
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाईरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।
आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सुरुवात गरेको दावी गर्दै उहाँले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने र त्यसपछि सरकारको ध्यान देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा रहेको पनि दोहोर्याउनुभयो ।
उहाँले त्यसका लागि इमान्दार भएर सरकारलाई सहयोग गर्न पनि निजामती कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले अहिले पनि परिवर्तनका विरुद्ध विभिन्न खालको षडयन्त्र भईरहेको उल्लेख गर्दै सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनुभयो ।
प्रधानमन्त्री दाहालले पार्टी वा पार्टीका संगठनहरुको नेतृत्व टिके प्रथाबाट चयन गर्दा फाईदा नभएको स्विकार गर्नुभयो । उहाँले अब पार्टीको पनि राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने र सहमतीमा नभए नेतृत्व चयनका लागि निर्वाचनमा जान उपयुक्त हुने देखिएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सहमतिमा नभए नेतृत्व चयनको काम प्रतिस्पर्धाबाट गर्नु वैज्ञानिक हुने देखिएको भन्दै सोही अनुसार नेतृत्व चयन गर्न पार्टी मातहतका संगठनहरुलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै सरकार उनीहरुको ट्रेड युनियनको पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो । अहिले पनि मुलुकमा कर्मचारी ट्रेड युनियनको आवश्यक्ता छ कि छैन ? भन्ने बारे बहस जारी रहेको र आफू भने त्यसको पक्षमा रहेको उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्