८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निजामती सेवाको नाम फेर्नुपर्छ : निधी


832
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले निजामती सेवाको नाम फेर्नुपर्ने धारणा राख्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधीले निजामती सेवाको नाम फेर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको उल्लेख गर्नुभयो । उहाँले लोकसेवा आयोगले कर्मचारीहरुको भर्ति गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने बताउनुभयो ।

उहाँले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने बताउनुभयो । उहाँले राजाको सेवामा खटिनेहरुलाई ‘निजामती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उहाँले उल्लेख गर्नुभयो । नेता निधीले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताउनुभयो ।

नेता निधीले राजनीतिज्ञ र कर्मचारीहरुको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेता निधीले स्थानीय तहका कर्मचारीहरु र निजामती सेवाबाट आएका कर्मचारीहरुबीचमा द्वन्द्व देखिएको गुनासो आएको भन्दै द्वन्द्वको निराकरण गर्नका लागि राजनीतिक तह प्रतिवद्ध रहेको बताउनुभयो ।