१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी


429
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेको दाबी गर्नुभएको छ ।

मन्त्री मोदीले सरोकारवाला सबै निकायसँग आफूले छलफल गरेर त्यसमा देखिएको विवाद समाधान गरेको र सहमतीका लागि अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सो विधेयक पठाइएको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विगत ७ वर्षदेखि अड्किएर रहेको सो विधेयक आफूले सरकारवालाहरुसँग छलफल गरेकै कारण सहमति जुटाएर अघि बढाउन सफलता हात परेको जिकीर समेत गर्नुभयो । मन्त्री मोदीले मैले जसरी सो विधेयक अघि बढाउन विगतमा मन्त्रीहरुले प्रयास नगरेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

मन्त्री मोदीले आफूले राजनीतिक आस्थाको आधारमा कुनै पनि कर्मचारीलाई विभेद नगरेको पनि बताउनुभयो । जुनसुकै राजनीतिक आस्थामा रहेपनि कर्मचारीहरुको सरुवा, बढुवामा आफूले भेदभाव नगरेको उहाँको स्पष्टिकरण थियो ।