
काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ नयाँ अनुहारका रुपमा छिन् ।
यस्तै, पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् । गत महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिममा पुजा थिइनन् । भारत भ्रमणका क्रममा चोट लागेकी डिफेण्डर गीता राना हाल शल्यक्रियापछि आराममा छिन् भने भारतसँग खेलेकी यू–२० टिमकी कप्तान प्रिती राई पनि टिममा परिनन् ।
अर्की डिफेण्डर धिमकुमारी गुरुङले भने भारतसँगको खेलपछि सन्यास घोषणा गरेकी थिइन् । प्रशिक्षक थापाले गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रशिक्षक थापाले ओलम्पिकको रेगुलेसन अनुसार २२ जना मात्र खेलाडी राख्न मिल्ने बताए । यस्तै प्रिति राई प्रशिक्षणका क्रममा घाइते भएकाले टिममा नराखिएको उनले बताए । डिफेण्डर गीता नहुँदा उनको स्थानमा पुजा रानालाई राखेको उनले स्पष्ट पारे ।
एसियाली पहिलो चरणको छनोटमा समूह ‘सी’ मा रहेको नेपालले भियतनामासँग घरेलु मैदानमा दुई खेल खेल्नेछ । नेपाल र भियतनामबीच यही चैत २२ र २५ गते दशरथ रंगशालमा खेल हुने छ ।
यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि दुई टिमबीच दुई लेगको खेल हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्