१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यस्ता छन् प्रचण्ड मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री


1.69k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश गरेर शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

सातौं पटक पुनर्गठित मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्रीसहित १५ मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रचण्डले पुस ११ मा सपथ लिनु भएसँगै माघ ३, १४ र २३, फागुन १२ र १४ मा र शुक्रबार गरी ७ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नु भयो ।

पूर्णबहादुर खड्का :

खड्का प्रधानमन्त्री प्रचण्डपछि दोस्रो नम्बरमा हुनुहुन्छ ।

नेपाली कांग्रेसका उपसभापति खड्काको चाहना गृह मन्त्रालय सम्हाल्ने थियो तर उप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

वाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सूचना तथा सञ्चार, उद्योग तथा गृहमन्त्री भइसकेका खड्का २०६२/६३ को परिर्वतनपछि भने सरकारमा जानु भएको थिएन । यो पटक प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गरेका उहाँ उपप्रधानमन्त्रीमा बढुवा समेत हुनु भयो ।

प्रजातन्त्र पुनः प्राप्त पछि २०४८, २०५१, २०५६ भएको निर्वाचनमा उहाँ लगातार सुर्खेतबाट निर्वाचित हुनुभएको थियो । २०६४ मा संविधान सभामा उनी समानुपातिक सांसद बन्नुभयो भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा खड्का संविधान सभामा निर्वाचित हुनुभएको थियो । तर, २०७४ को निर्वाचनमा भने उहाँ पराजित हुनु भएको थियो ।

२०७९ सालमा भएको निर्वाचनमा उहाँ सुर्खेत–१ बाट निर्वाचित हुन भयो ।

नारायणकाजी श्रेष्ठ :

श्रेष्ठ प्रधानमन्त्री प्रचण्डपछि तेस्रो नम्बरमा हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस पटक उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । पुस १० गते प्रधानमन्त्री बन्नु भएका प्रचण्डले पुस ११ गते उहाँलाई उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारीमा दिनुभएको थियो ।

उहाँ पटकपटक मन्त्री बन्नु भएको थियो । श्रेष्ठले परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भइसकेको छ ।

२०६४ सालमा भएको पहिलो संविधानसभामा उहाँलाई मन्त्रिपरिषदले मनोनित गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुरबाट चुनाव लड्नु भएको थियो तर, पराजित बन्नु भयो । यसैगरी, २०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा गोरखा २ बाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित हुनुभयो ।

श्रेष्ठ २०७६ माघमा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।