
काठमाडौं । नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।
आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको थियो । तर, नेपाल सरकारले नाका खुल्ला गरेको लामो समय बितिसक्दा पनि चीनसँगका सिमा नाका पूर्ण सञ्चालनमा आउन सकेका थिएनन् । अन्तराष्ट्रिय नाका बन्द गर्ने घोषणाको तीन वर्षपछि चीनले मानव आवागमन खुला गरेको हो ।
नेपालका लागि चिनियाँ राजदूत छेन सङले रसुवागढी नाका औपचारिक रुपमा खुला भएको जानकारी दिँदै दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गर्नुभएको छ ।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् ।
नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ । केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ ।
केही दिनअघि नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले शनिबारबाट नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन पनि शनिबारदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्