१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ


429
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताउनुभएको छ ।

आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेटेर गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताउनुभएको हो ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताउनुभयो ।

उहाँले सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने ढुक्क रहन आग्रह गर्नुभयो । गृहमन्त्री श्रेष्ठले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको जानकारी दिँदै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।

मिटरब्याज पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सरकारले गरेको सहमतिप्रति विश्वास रहेको भन्दै उनीहरुले न्याय पाउने आशा व्यक्त गरेको छन् ।

मिटरब्याज पीडितहरुले गाउँसम्म पुग्ने व्यवस्था आफूहरु स्वयम्ले गरेको भन्दै सोमबारसम्ममा गाउँ फर्किसक्ने बताएका छन् ।