२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजर्षि जनक क्याम्पसकाे विवादले विद्यार्थीको भविष्य अन्योल


26
Shares

काठमाडाैं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ ।

मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिब ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ ।

विश्वविद्यालयको भिसी रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु नभएको करिब ११ महिना बढी भइसक्यो । विश्वविद्यालयमा ११ महिना अघिका प्रायः सबै पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाश प्राप्त गरिसकेका छन् । तर सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन । विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरुले समयमा नै परीक्षामा फर्म भर्न समेत नपाएको विद्यार्थीहरुको गुनासो छ ।

विश्वविद्यालयको बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यववस्थापन कमजोर रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई परेको समस्या क्याम्पस प्रमुखलाई भन्न समेत अहिलेसम्म प्रमुख समेत नभएको गुनासो गर्नुभयो ।

उहाँले परीक्षाको लागि परीक्षा फर्मको लागि पहल गर्ने समेत कोही नभएको बताउनुभयो । उहाँले विश्वविद्यालयका कर्मचारी र शिक्षकको विवादका कारण विद्यार्थीको पढाइमा समस्या भएको बताउनुभयो । उहाँले विद्यालयमा भर्ना भएको हिसावले हेर्दा अहिले पाँचौं औं सेमेस्टरको पढाइ हुनुपर्ने भएपनि अहिलेसम्म तेस्रो सेमेस्टरको परीक्षाकै तयारीमा विद्यार्थीहरु रहेको बताउनुभयो ।

त्यस्तै, अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारी विहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताउनुभयो । उहाँले बैंकमा परीक्षा दस्तुर बुझाएर पनि परीक्षा फारम कहाँ गएर भर्ने भन्ने कुनै टुङ्गो नभएको बताउनुभयो । उहाँले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री भएपनि अहिलेसम्म राजर्षी जनक विश्वविद्यालयको समस्या समाधान नभएको बताउनुभयो ।

उहाँले मधेश प्रदेशका मुख्यमन्त्रीलाई विद्यार्थीहरुले जानकारी दिन जाँदा राजर्षि जनक विश्वविद्यालयको विषयमा जानकारी समेत नभएको बताउनुभयो । विश्वविद्यालयलाई बचाउनका लागि केन्द्र सरकारले पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

विश्व विद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताउनुभयो । उहाँले सरकार विश्वविद्यालय स्थापना गरेर पदाधिकारी विहीन हुँदा समेत मौन बस्नु जायज नभएको बताउनुभयो । उहाँले विश्वविद्यालयको आफ्नो भौतिक संरचना नरहेकाले समेत समस्या बढ्दै गइरहेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयको आफ्नो भौतिक संरचना तयार भइदिए आधाभन्दा बढी समस्या समाधान आफैँ भएर जाने दावी गर्नुभयो । उहाँले विश्वविद्यालय पदाधिकारी र शिक्षकहरु अनुसाशित नहुँदा समस्या भएको बताउनुभयो । उहाँले विश्वविद्यालयमा आउने कर्मचारी र शिक्षकहरुले विश्वविद्यालय बचाउने भन्दा पनि महत्वकाक्षा बढी राखेकाले अहिले समस्या आएको बताउनुभयो ।

साेही विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालयको स्थापना तथा पदाधिकारीहरुको नियुक्तिसँगै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ।

कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई आन्दोलनको केन्द्रमा परिणत हुँदै आइरहेको छ । विश्वविद्यालयका उपकुलपति झा २०७८ पुस २६, रजिष्ट्रार यादव २०७८ माघ ७, सेवा अयोगका अध्यक्ष लाभ माघ १० गते सेवा निवृत भएपनि अहिलेसम्म सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन ।