
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गर्नुभएको छ ।
एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीको जिकीर थियो । उहाँले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने पनि दोहोर्याउनु भयो ।
आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गर्नुभयो ।
दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाई थियो । उहाँले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दाबी समेत गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो । उहाँले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पार्नुभयो । आफूहरु अब गठजोडको पक्षमा नलाग्ने पनि ओलीले प्रष्टयाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्