१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रयद्वारा मनोनयन दर्ता


91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ ।

निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिम बनाएर उम्मेदवार तानातानमा ब्यस्त छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः आगामी अध्यक्ष हुनुहुँदैछ ।

वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिने गरेको हो । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।

यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर, भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बन्नुभएको छ ।

अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ । संघाईले उद्योगी व्यवसायीका समस्या समाधान गरी व्यवसायीका हकहीतमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताउनु भयो ।

यस्तैै, वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संगठन सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिवद्धता जनाउनु भयो ।

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायी माझ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छैन । श्रेष्ठले पनि मंगलबार नै वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।