
काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रुपमा असफल भएको बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य भट्टले सरकारले सय दिन पूरा गरेपनि हरेक मोर्चामा पूर्ण रुपमा असफल देखिएको बताउनुभएको हो । उहाँले सय दिनमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकार निरिह र कमजोर भएको टिप्पणी गर्नुभयो ।
उहाँले जालझेल गरेर तिन महिनामै गठबन्धन बदल्नुबाहेक सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको उल्लेख गर्नुभयो । भट्टले देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारसँग निजी क्षेत्रको विश्वास गुम्दै गएको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले देशको आर्थिक संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको खाँचो औंल्याउनुभयो । उहाँले देशको आर्थिक संकट समाधानका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको हो ।
दलहरुले आ–आफ्नो विचार सिद्धान्त थाँती राख्दै राष्ट्रलाई आर्थिक संकटबाट मुक्त गर्न एकजुट हुनुपर्ने उहाँको भनाइ छ । विष्टले नेपालको लिम्पियाधुरासम्मको चुच्चे नक्शा पारित गर्दा जस्तै संसदमा आर्थिक संकट टार्नका लागि एक हुनु आवश्यक रहेको बताउनुभयो ।
बैठकमा अर्का सदस्य सिंहबहादुर विश्वकर्माले जातीय आधारमा हुने छुवाछुतको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जातीय छुवाछुतको अन्य गर्नु सरकार र संसदको पहिलो प्राथमिकताको विषय बन्नुपर्ने बताउनुभयो । जातीय छुवाछुत मुक्त समाज बनाउन सरकार र संसदको ध्यानाकर्षण गराउँदै उहाँले दलित समुदायमाथि छुवाछुत, भेदभाव, बलात्कार र हत्या, हिंसाको घटनाहरु बढीराखेका भन्दै न्यायिक निरुपण समेत हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले दलित समुदायले अपनाइरहेका पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने र प्रतिव्यक्ति आय वृद्धि गर्नेगरी कार्यक्रमहरु ल्याउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्