
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका प्रमुख दाताहरुसँग अहिलेको आर्थिक अवस्था बारेमा जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ ।
विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसलाई मंगलबार भेट्दै अर्थमन्त्री महतले अहिले भइरहेका विकास आयोजनाको निर्माणलाई फास्ट ट्रयाकमा निरन्तरता दिने बताउनुभएको थियो ।
बुधबार भने एसियाली विकास बैंकका देशीय निर्देशक अर्नड काउचिससहितको टोलीले अर्थमन्त्री महतसँग भेटघाट गर्दै पावर पोइन्ट प्रेजेन्टेसन गरेको छ । एडीबीले आफूले सञ्चालन गरिरहेका परियोजनाका बारेमा अर्थमन्त्रीलाई ब्रिफिङ गर्दै पुरानै समस्याहरु दोहोरिएको गुनासो राखेका छन् ।
एडीबीको टोलीले अझै पनि जग्गा प्राप्ति, परियोजना प्रमुखहरु पटकपटक फेरिनेलगायतका समस्या रहेको भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराएको हो । यिनै समस्याका कारण सरकारको पुँजीगत खर्च नै कम भएको एडीबी टोलीको भनाइ छ । एडीबीको सहयोगमा सरकारले ठूला पूर्वाधारहरु निर्माण गरिरहेको छ ।
एडीबी टोलीलाई जवाफ दिँदै अर्थमन्त्री महतले व्याप्त समस्या समाधार गर्दै कामलाई तीव्रता दिने बताउनुभयो । अहिलेको समस्या पुँजीगत खर्च कम हुनु पनि रहेको भन्दै अर्थमन्त्री महतले त्यसलाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । महतले एडीबीको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्