१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा सेवाप्रवाह सञ्चालन केन्द्र स्थापना

फाइल बोकेर धाउनुपर्ने बाध्यता हट्यो

468
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको अब कर्मचारी स्वयंले काम सम्पन्न गर्ने गरी केन्द्र सञ्चालनमा आएको हो ।

नगरपालिकाले सेवाग्राहीका लागि चिया, चिसो पानी, टिभी र वाइफाइ लगायत स्तनपान कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले नगरलाई थप मजबुत बनाउन प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस्तै लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सी.ले सेवाग्राहीले प्रत्यक्ष महसुस हुने नगरले ल्याएको योजना उल्लेखनीय रहेको बताउनुभयो । आगामी दिनमा सेवा अझै प्रभावकारी हुने जनाउँदै निरन्तरताको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले कपिलवस्तुमै पहिलो पटक यस्तो सेवा प्रवाह गरेको दाबी गर्नुभयो । नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन सम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न यो सेवा सुरू गरिएको बताउनुभयो ।

प्रमुख थापाका अनुसार शिवराजको ग्रामीण क्षेत्रमा तथा बजार क्षेत्रमा बसोबास गर्ने आम नागरिकले नगरपालिका आएपछि कुन कामको लागि कसलाई भेट्ने थाहा नहुने हुँदा यस केन्द्रले ठुलो सहयोग पुर्‍याउने छ । उहाँले सहज केन्द्र सञ्चालन भएसँगै कर्मचारी र आम नागरिक बीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।