
काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ ।
शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९ मतान्तरले विजयी हुनभएको हो ।
अन्तिम मत परिणामअनुसार विष्टले ८४१ मत ल्याउनु हुँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाउनुभयो ।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पाटनमा नेविसंघको आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।
यसैगरी, सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी हुनुभएका छन् ।
दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी हुनुभएका छन् भने अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी हुनुभएका छन् ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिनुभएको थियो । पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो । विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्