
काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ ।
भत्तपुरको श्री ३ विष्णुवीर धिमे खलःसँगको सहकार्यमा भएको प्रतियोगितामा ३९ टोलीको सहभागिता रहेको थियो । पहिलो हुने राज गणेशले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा काठमाडौं धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलःले द्वितीय तथा भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठी तेस्रो भयो । दोस्रो हुनेले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रोले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजयीलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विगतमा नगरपालिकाको सहयोगमा सञ्चालन हुँदैं आइरहेको प्रतियोगिता यसपटक नगरपालिकाले स्वामित्व लिएर सञ्चालन गरेको बताउनुभयो ।
मध्यपुर थिमि कला संस्कृति, सम्पदाले धनी भइकन पनि यसलाई आर्थिक आय आर्जनसँग जोड्न नसक्दा पर्यटन उद्योगको विकास हुन नसकेको उहाँको भनाई थियो ।
धिमे प्रतियोगिताले मध्यपुर थिमिमा बिस्काः जात्राको रौनक थप बढाएको चर्चा गर्दै उहाँले यसवर्षको बिस्काः जात्रा अवलोकनका लागि संस्कृति मन्त्री लगायत काठमाडौं उपत्यकाका सबै नगरपालिकालाई आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्