
विद्युतीय दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना जगाउन विश्वभर विद्युत सुरक्षा दिवस मनाईदै
काठमाडौं । आइतबार अन्तर्राष्ट्रिय विद्युत सुरक्षा दिवस ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्युतजन्य दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
ललितपुर महानगरले पनि आइतबार साउथ एशियन लाइटिङ्ग नेटवर्कको प्राविधिक सहयोगमा यससम्बन्धी छलफल कार्यक्रम गरेको छ ।
नेटवर्कका अध्यक्ष श्रीराम शर्माले विद्युतजन्य दुर्घटना बारेमा आम जनतामा चेतनाको कमी भएका कारण नेटवर्कले विद्युतजन्य दुर्घटनाबारे जनचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाले चट्याङ्ग र विद्युतजन्य दुर्घटना न्यूनीकरणको अभियाननै चलाउँदै आएको महानगर बिपद ब्यवस्थान शाखा प्रमुख हरिशचन्द्र लामिछानेले बताउनुभयो ।
नेटवर्कको तथ्यांक अनुसार मुलुकमा गत आर्थिक बर्ष २०७८/७९ मा भएका २ सय ६९ आगलागीका घटनामध्ये १ सय ८८ वटा अर्थात् ७० प्रतिशत विद्युतजन्य दुर्घटना रहेका छन् । यस्तै, चालू आर्थिक बर्ष २०७९/८० मा घटेका १ सय ७१ वटा आगलागिका घटना मध्ये १ सय २३ वटा अर्थात ७२ प्रतिशत विद्युतजन्य बाट घटना भएको देखाएको छ ।
विद्युतको लागि घरमा लगाइने विद्युतीय सामग्री लामो समयसम्म जिर्ण हुँदासम्म नफेर्ने गरिएका कारण विद्युत शर्ट भइ आगलागी हुने सम्भावना बढी भएको नेटवर्कका अध्यक्ष शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्