
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ जारी छ । महोत्सवमा आइतबारसम्म करिब २ करोडको कारोबार भएको छ ।
महोत्सवको चौथो दिनसम्म आईपुग्दा सम्पूर्ण स्टलहरुबाट करिब २ करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभयो । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेका छन् ।
गत बिहीबार सुरु महोत्सवको हालसम्म करिब १ लाख दर्शकले अवलोकन गरेको उहाँले बताउनुभयाे ।
महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहेका छन् । यस्तै, अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहेका छन् ।
महोत्सवमा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।
मेलामा दर्शकको सहभागिता उत्साहजनक रुपमा बढेको भन्दै उहाँले धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको बताउनुभयो ।
प्रवेश शुल्क ७० रूपैयाँ, विद्यार्थीहरुका लागि ५० रूपैयाँ टिकट दर तोकिएको छ ।
वैशाख ३ गतेसम्म हुने महोत्सवमा पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने र स्टलहरुबाट करिब १० देखि १२ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्