
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।
उहाँले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विषयगत समितिमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्नेकुरामा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौँ विषयहरुसँग सम्बन्धित भएकाले त्यो प्रतिकुल देशका ऐनहरु बन्नु नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले विधेयकमा पीडितहरुको भावना समेट्नुपर्ने, सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरुलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन सक्नुपर्ने बताउनुभयो ।
सचेतक बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई राष्ट्रको साझा विषय बनाइ कुनैपनि प्रश्न उठन नदिने गरी टुंग्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्