१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोमबार पनि उठेन सिंहदरबारको फोहोर


169
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर सोमबार पनि उठ्न सकेको छैन ।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भन्नुभएको थियो । उहाँको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले विरोध गरेका छन् ।

राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गर्नुभएको हो । आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमबार पनि उठेको छैन ।

सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरुले यसलाई संघ सरकार केन्द सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट सुरु भएको बताउँदै आएका छन् ।

महानगरको गैरजिम्मेवारीपनाप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।