
काठमाडौं । प्रतिनिधिसभाले बैठक सञ्चालन, विषयगत समिति गठनका साथै सदनलाई प्रभावकारी बनाउन नियमावली बनाएपनि सांसदहरु नियमावलीप्रति बेखबर देखिएका छन् । संसदले निर्धारण गरेको कुन समयमा के बोल्ने के नबोल्ने समेत निधो संघीय संसदका जनप्रतिनिधिलाई छैन ।
२१ दिन मस्यौदा समितिमा छलफल गरेर संसदको नियमावली बनाइयो । प्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित ग¥यो । तर, उक्त नियमावलीमा भएका नियमबारे नै सांसदहरू बेखवर जस्तै देखिएका छन् ।
नियमावली लागू भएको दिनदेखिनै आफूले बनाएको थिति सांसदहरूले उल्लंघन गरिरहेका छन् । नयाँ नियमावलीअनुसार सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्न सांसदहरूलाई समय दिनुभयो । र राप्रपाका प्रमुख सचेतक तथा नियमावली मस्यौदा समितिको सदस्य ज्ञानबहादुर शाहीले बोल्न आकस्मिक समय पाउनुभयो । आकस्मिक समयमा उहाँले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गर्नुभयो । तर, यो आकस्मिक समयमा उठाउने विषय थिएन । बैठकमा शाहीले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउनुभयो ।
आकस्मिक समयमा अघिल्लो बैठक र सुरु हुन लागेको बैठकको बीचको अवधिमा भएको घटनालाई उठाउन पाइने व्यवस्था छ । कांग्रेसका सांसद वीरबहादुर बलायरले आकस्मिक समयमा सुदूरपश्चिम प्रदेशको राजनीतिको विषय उठाएपछि सभामुख घिमिरेले बोल्न रोक्नैपर्ने स्थिति आयो । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आकस्मिक समयमा सरकारले सांसदले उठाएको विषय नसुनेको र जवाफ नदिएको विषय उठाएपछि सभामुख घिमिरेले सांसद पाण्डेलाई संसद नियमावाली तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
बैठकमा आकस्मिक समयपछि शून्य समयको पालो आयो । शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले शून्य समयमा बोल्ने समय पाउनुभयो । र नियमावली विपरीत केही बेर मौन बस्नुभयो । सरकारले माननीयले बोलेको केही पनि नसुनेकाले मौनधारण गरेँ भन्दै धन्यबाद दिनुभयो ।
यसअघि ५ माघमा जनमत पार्टीका सांसद सीके राउतले रोस्ट्रमबाट नै मौनधारण गर्न सांसदहरूलाई भन्नुभएको थियो । त्यस्तै, अघिल्लो संसदमा एमालेका सांसद भीम रावलले एमसीसीको विरोधमा रोस्ट्रम नै कब्जा गर्नुभएको थियो । गत १२ चैतमा नेपाली कांग्रेसका सांसद नियमवाली उल्लंघन गरेकोले पूर्णबहादुर खड्काले माफी नै माग्नुभयो । सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था भएपनि खड्काले ओहोरदोहोर गरेको भन्दै एमाले सांसद महेश बर्तौलाले नियमापत्ति जनाएपछि माफी माग्नुपर्ने अवस्था आयो ।
संसद सचिवालयले सबै सांसदहरूलाई नियमावली उपलब्ध गराएको छ । तर, हातमा नियमावली भएर पनि सांसदहरुले अध्ययन नगरेको पाइन्छ । आफैंले बनाएको नियमावली नपढेर संसदमा मनपरी गर्दा सांसदको अयोग्यता प्रदर्शन हुन्छ नै, सार्वभौम संसदको गरिमामा पनि धक्का लाग्छ ।
प्रतिक्रिया दिनुहोस्