
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि बृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताउनु भएका हो ।
वरिष्ठ उपाध्यक्ष ढकालले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताउनु भयो । मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने उहाँको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्