२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल


195
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको भन्दै आउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ ।

स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७९ को उद्घाटन पछि बोल्दै प्रधानमन्त्री दाहालले भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा रहेको बताउनुभएको हो ।

दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि भलिबल विकासका लागि अपेक्षा अनुसार नभएको भन्दै तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सहयोग गर्ने वाचा गर्नुभएको हो । उहाँले सम्बोधनको क्रममा आउनै लागेको नीति कार्यक्रम र बजेटमा भलिबललाई सम्बोधन गर्ने बताउनुभएको हो ।

पोष्टबहादुर बोगटीको सम्झनामा आयोजना गरिएको प्रतियोगिता लाई पोष्टबहादुर प्रतिष्ठानले आयोजना गरेको हो । प्रतियोगितामा कुल तीन विभागीय र तीन प्रदेशका टोलीले सहभागिता जनाउँदैछ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले महिला टोलीलाई चीनको हान्झाउमा अगामी वर्ष हुन लागेको एशियन गेम्समा सहभागिता निश्चित भइसकेको अवस्थामा पुरुष खेलाडीहरुको पनि सहभागिता आवश्यक रहेको भन्दै तयारीमा राखेप जुटिरहेको बताउनुभयो । घिसिङले विशेष तयारी गर्दै आयोजना भएका प्रतियोगिताबाट खेललाई निर्खान खेलाडीलाई आग्रह गर्नुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुने छ । लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुने छ । यस्तै, विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।