२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली


221
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग मंगलबार आफ्नो निवास बालकोटामा अन्तर्क्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, संगीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, संगीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

एमाले अध्यक्ष ओलीले गीत संगीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलो पटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।

त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्यद्वय ओमराज गुरुङ र चूडामणि भट्टराईले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।