
एजेन्सी । फिजीमा खानेपानीको चरम संकट भएको छ ।
फिजीमा प्रत्येक वर्ष मौसम परिवर्तन भएसँगै हुनुपर्ने वर्षा समयमा नहुँदा खानेपानीको संकट हुँदै आएको हाे । फिजीको भिटी लेभुको मुख्य टापुमा पानीको संकट भएपछि त्यसको प्रभाव फिजीभर परेको छ । जसका कारण फिजी सरकारले स्थानीयलाई पानीको प्रयोगमा कडाई गरिएको सूचना जारी गरेको छ ।
पानीको अत्यावश्यक प्रयोग बाहेक विलासिताका सामानका सरसफाईमा पानीको प्रयोगमा कडाई गरिएको हो । पूर्वाधार समस्याका कारण दैनिक ३० लाख लिटर पानीको माग र आपूर्तिबीचको तालमेल पूरा गर्न नसकिएको फिजी सरकारको भनाइ छ । गत फागुन १ गतेदेखिको मौसमी कारणले अवस्था निकै बिग्रिएको जनाइएकाे छ ।
अहिले सुख्खा मौसमका कारण ७० लाख लिटर पानीको अन्तर रहेको र नदीको बहाव घट्ने हो भने पानीको आपूर्ति अझै घट्ने विश्लेषण गरिएको छ । फिजीमा प्रत्येक वर्ष पानीको संकट हुँदा हजारौं मानिस प्रभावित हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्