
काठमाडाैं । बाँकेको नेपालगञ्जमा सुरु भएकाे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामा अन्योल भएकाे छ ।
अब प्रक्रियामा लम्ब्याएर नयाँ नेतृत्वका लागि सर्वसम्मत नेतृत्व घोषणाको अन्तिम तयारी भएको हाे । बुधबार बिहानसम्म अध्यक्षसहितको अधिकांश पदमा दुई भन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि पार्टी नेतृत्व सर्वसम्मतका लागि पहलमा लागेको थियो । निर्वाचन समितिले निर्वाचनको सबै तयारी पूरा गरेपनि बुधबार राति नेता महेश बस्नेत र राजीव पहारीको पहलमा सर्वसम्मतको थालनी भएको हो ।
बिहीबार बिहान साढे ३ बजेसम्म यसका लागि पहल गरिएको हाे । बिहीबार बिहान धेरै प्रतिनिधि हिंडिसकेकाले अब निर्वाचन हुने सम्भावना छैन । निर्वाचन प्रक्रिया लम्बिएपछि पूर्वनिर्धारित समयमा महाधिवेशन नसकिने भएकाले सर्वसम्मत गर्न पहल थालिएको नेताहरूको भनाइ छ ।
सोमबारदेखि सुरु भएको बन्द सत्र मंगलबार राति सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो । नेतृत्वले सर्वसम्मतका लागि निरन्तर पहल गरिरहँदा मतदान प्रक्रिया पछाडि धकेलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेतृत्व सर्वसम्मत बनाउन बुधबार राति विधान संशोधन गरेर उपाध्यक्षको पद थपिएको छ । विधान संशोधन गरेर ३ उपाध्यक्षलाई ७ बनाइएको छ ।
स्रोतका अनुसार संघको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरीलाई जिम्मेवारी दिने गरी तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्