१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटहरी उपमहानगरमा घर बनाउदा लाग्ने शुल्क निःशुल्क


104
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरले १ हजार वर्गफिटको पक्की घर बनाउदा लाग्ने सम्पूर्ण शुल्क निःशुल्क गर्न थालेको छ ।

पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लाबाट इटहरी बसाई सरेर आउनेको संख्या ह्वात्तै बढन थालेपछि इटहरी उपमहानगरपालिकाले नगरवासीलाई उक्त सुविधा प्रदान गरेको हाे । इटहरी उपमहानगरपालिकाभित्र १ हजार वर्गफिटसम्मकाे घर बनाउने सबै नागरिकलाई घर बनाउन र निर्माण सम्पन्नमा लाग्ने सबै सुल्क निःशुल्क गरिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयाे ।

उहाँले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन र पक्का घर बनाउने तर्फ आकर्षित गर्ने उदेश्यले घर बनाउदा लाग्ने शुल्क निःशुल्क गरिएको बताउनुभयाे। कतिपय नागरिकहरुले घर बनाउदा र नक्सा बनाउने खर्च धेरै भएका कारण कच्चा घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि उपमहानगरले घर बनाउने शुल्क निःशुल्क गरिएको मेयर पौडेलको भनाइ छ ।

उहाँले पक्का घर बनाउनेहरुका लागि उपमहानगरपालिकाले सहुलियत दरका घरको आधुनिक डिजाईन को नक्का पनि निर्माण गरिदिने बताउनुभएकाे छ । उहाँले विभिन्न कन्सलटेन्सिहरुले महँगोमा घरको डिजाईन बनाइदिने गुनासोलाई सम्बोधन गर्दै उपमहानगरले जनताका घरको नक्सा डिजाईन गरिदिने बताउनुभयाे ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले घरको नक्सा निर्माणका लागि छुट्टै घर नक्सा शाखा स्थापना गरी तीन जना आर्किटेक इन्जिनियरहरुलाई खटाइएको बताउनुभयाे । उहाँले घरको डिजाईन तयार गरी बनाइएको नक्साको रेट कन्सलटेन्सिहरुले लिने रकमको ५० प्रतिशत छुट गरिने पनि बताउनुभयाे । उहाँले उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार यो अभियान सुरु गर्न लागिएको बताउनुभयाे ।

इटहरी उपमहानगरपालिकाले घर बनाउने शुल्क निःशुल्क गरेपछि २ सय ४१ जना नगरवासीलाई यो सुविधा प्रदान गरिएको उपमहानगरको घर नक्सा शाखा प्रमुख कैलास तिम्सिनाले जानकारी दिनुभयाे । पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउने उहाँको भनाइ छ । उपमहानगरपालिकाले घर बनाउदा लाग्ने शुल्क निःशुल्क गरिदिएकोमा नगरवासीले खुशी व्यक्त गर्दै जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका छन् ।