१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनः मतदान हुने


52
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनः मतदान हुने भएको छ।

वरिष्ठ उपाध्यक्ष पदको लागि पुनः मतदान बिहीबार दिउँसाे २ बजेदेखि हुने भएकाे हाे । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेद्वारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिष्पर्धा हुने भएको छ । रामचन्द्र संघाई भने चुनावी प्रतिष्पर्धाबाट बाहिरिनुभएकाे छ ।

पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनुभयो । उहाँले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने भएपनि चुनावी प्रतिष्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु मध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुई जना उम्मेद्वारीबीच निर्वाचन हुने बताउनुभयो ।

उहाँले महासंघको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिष्पर्धा हुने बताउनुभयो । उहाँले वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको मतदान बिहीबार दिउँसाे २ बजेदेखि ५ बजे सम्मका लागि तोकिएको बताउनुभयो।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एशाेसिएटमा संघाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एशाेसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।