
काठमाडौं । केही महिनायता कोरोना संक्रमणदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।
भारतबाट घर फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । चैत महिनामा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएकाले त्यसको प्रभाव पर्न थालेको चिकित्सकहरुको भनाई छ ।
नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि बढ्न थालेको निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । सीमावर्ती क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई सम्झाएको छ ।
भारतसँग सीमा जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको छ । यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् स्वदेश भित्रिन दिइने गरिएको छ । परीक्षणपछि संक्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।
संक्रमितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने अवस्था रहेको छ ।
संक्रमणको त्रास बढेसँगै स्थानीय स्तरमा कोरोनाविरुद्धको खोप अभियानलाई तीब्रता दिइएको छ ।
यसक्रममा प्रदेशका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्