
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाकाे बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ शनिबार मनाइँदैछ ।
विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु हुने भएकाे हाे । युवाहरूले नै संस्कृति बचाउनुपर्छ भन्ने सन्देश दिन र प्रत्येक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको सुजनले बताउनुभयो ।
नवौं पटक जिब्रो छेडेका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठकाे कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेड्ने हुनुभएको हो । कृष्णचन्द्रले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । तर यसवर्ष बुद्धकृष्णका कान्छा छोराले पहिलो पटक जिब्रो छेड्दै हुनुहुन्छ ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम रहेकाे छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ।
साथै मध्यपुरथिमि क्षेत्रमै शनिबार ३२ खटसहितको सिन्दुर जात्रा मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् । थिमिमा मात्र मनाइने यो जात्रामा एक-अर्कामा सिन्दुर दलेर धिमेल गायतका स्थानीय बाजाको तालमा नाच्ने प्रचलन रहेकाे छ ।
हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्