
काठमाडौं । मौलिक नेपाली कथामा चलचित्र बनेको भन्दै प्रिमियरमा चलचित्र ‘जारी’ ले प्रसंशा बटुलेको छ।
चलचित्रको बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो। चलचित्रको प्रिमियर शोमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हाे ।
कवि तथा राजनितिज्ञ पनि उपेन्द्र सुब्बा निर्देशित उक्त चलचित्र हेर्न हल पुगेका थिए । चलचित्र हेरेर हलबाट निस्किंदै गर्दा सबैले उत्कृष्ट मौलिक नेपाली चलचित्र बनेको भन्दा प्रसंशाको ओइरो लगाएका थिए । चलचित्रको अग्रिम टिकट बुकिङ पनि उच्च रहेकाले शुक्रबार चलचित्रले बम्पर ओपनिङ गरिसकेको छ ।
चलचित्रको प्रिमियर हेर्न निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले र विप्लप प्रतिक लगायत हल पुगेका थिए ।
उक्त प्रिमियर शोमा चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएपछि डेव्यु निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, विजय बराल, कमलमणी नेपाल र परीक्षा लिम्बु हर्षित देखिएका थिए । चलचित्र छायांकनको करिब ३ वर्ष ५ महिनापछि रिलिज हुँदा निकै खुशी लागेको अभिनेता दयाहाङले बताएका छन् ।
त्यस्तै, अभिनेत्री मिरुना मगरले आफूले ‘कबड्डी ४’ भन्दा पहिले अभिनय गरेको चलचित्र ‘जारी’ भएकाले पनि आफ्नो लागि यो चलचित्र विशेष रहेको बताएकी छन् । चलचित्रका निर्देशक उपेन्द्रले चलचित्र लेख्न भन्दा निर्देशन गर्न निकै गाह्रो रहेको अनुभव सेयर गर्दै केही दिन यता ‘जारी’ के होला ? दर्शकलाई मन पर्लाकी नपर्ला ? भन्ने पिरले सुत्न समेत नसकेको बताएका छन् ।
जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभूषा पनि झल्किन्छ । ब्लक बस्टर चलचित्र ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले चलचित्र ‘जारी’ मा सहकार्य गरेका हुन् । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेकाे छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।
बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह-निर्माताको रुपमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्