
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिको जसरी काम गर्नुपर्ने बताउनुभएको छ ।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।
कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उहाँको भनाई थियो ।
महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्