
काठमाडौं । नेपालले आफ्नो उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदा अभ्यास खेलमा ओमानमाथि ५ विकेटको जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् ।
जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । नेपालले ओपनरमा देव खनाल र अर्जुन साउदलाई पठाएको थियो । देव खनाल दुई रन जोड्ने क्रममा रन आउट भए । ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए ।
नेपालका ओपन अर्जुन साउद ६७ रनमा आउट भए । कप्तान रोहित पौडेल ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । कुशल मल्ल ८ रनमा बोल्ड आउट भए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट हुँदा सन्दीप जोरा ११ र भीम सार्की १ रनमा अविजित रहे । ओमानका कप्तान जिशान मकसुदले २ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका शोएब खानले १ सय १० रनको अवजित शतकीय इनिङ खेले । जतिन्दरसिंह ४२ रनमा आउट भए । नेपालका किशोर महतोले ३ विकेट लिए । प्रतिश जि.सीले २ विकेट लिदा सूर्य तामाङको नाममा पनि २ विकेट रहयो । श्याम ढकाल र मौसम ढकालले समान एक विकेट लिए ।
एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसिसी प्रिमियर कप मंगलबारदेखि सुरु हुने छ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस्