१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जाउलाखेल ए डिभिजनको शीर्ष स्थानमा


455
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले मनाङ मसर््याङ्दीमाथि सानदार जित हात पारेको छ ।

योसँगै जाउलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आज च्यासल मैदानमा भएको खेलमा जाउलाखेलले मनाङमाथि ३–० को जित निकालेको हो ।

खेलमा जाउलाखेलले चौथो मिनेटमै मसोअबिको गोलबाट आग्रता लिएको थियो । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो । निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँचौं मिनेटको पहिलो मिनेटमा फोफानाले गोल गरे ।

अन्तिम मिनेटमा मसोअबिले व्यक्तिगत दोस्रो गोल गरेपछि जाउलाखेलले महत्वपूर्ण तीन अंक हात पार्‍यो । यो जितसँगै जाउलाखेल ९ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ ।

आजै भएको अर्को खेलमा साविक विजेता मछिन्द्र क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र मछिन्द्रले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा मछिन्द्र बराबरीमा रोकियो ।

खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ ।

मछिन्द्र छैटौं स्थानमा रहेको छ । एनआरटीले ९ खेलमा ७ अंक जोडेको छ । एनआरटी ११ औं स्थानमा रहेको छ ।