२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सेती नदीमा मानवीय क्षति नहुने गरी व्यवस्था मिलाउन सांसद भट्टराईकाे माग


52
Shares

काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखराकाे सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । गत शनिबार पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीय बालिका स्मृति पराजुलीको ज्यान गएको दु:खद् घटनाकाे बारेमा संसदमा जानकारी गराउनु भएकाे हाे । उहाँले त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताउनुभयो ।

सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै सांसद भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभयो ।