
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ ।
आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीबार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ढकालले गत बिहीबार नै पद तथा गोपनियताको शपथ लिनु भएपनि आईतवार मात्रै अध्यक्षको पदबहाली गर्नुभएको हो ।
अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताउनुभयो । अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताउनुभयो ।
उहाँले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।
उहाँले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुकभित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभयो ।
त्यस्तै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाउनुभयो । गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबै भन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताउनुभयो । उहाँले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायीक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्