१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोजिरोटी खोसेको भन्दै टेलिकमविरूद्ध कर्मचारीले गरे धर्ना


221
Shares

काठमाडाैं । नेपाल टेलिकमले २ सय १७ जना प्राविधिक सहायकलाई कामबाट निष्काशित गरेकाे भन्दै बिरोध प्रदर्शन भएको छ ।

आइतबार दिउँसो टेलिकम बाहिर निष्काशित कर्मचारीहरुले बिरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २ सय १७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

उहाँले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिनुभयो । उहाँले रोजगारीको ग्यारेन्टिको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको बताउनुभयो । उहाँले लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना गर्नु परेको बताउनुभयो ।

उनीहरुले निष्काशित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छा चारिताको अन्त्य गर्, संसारका मजदुर एक हौं लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालो पट्टी समेत बाँधेर नेपाल टेलिकमको बिरोध गरेका थिए ।