१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्तो छ नवनियुक्त परराष्ट्रमन्त्री साउदको राजनीतिक यात्रा


1.859k
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र मानिएका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाएका छन् । देउवाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई परराष्ट्रमन्त्री बनाएका हुन् । साउदले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएर पद बहाली गरिसकेका छन् ।

कांग्रेस भित्र सभापति देउवा र नेता डा. शेखर कोइराला एवं महामन्त्री गगन थापाबीच मन्त्रि भागबण्डामा कुरा मिलेको बताएपनि आइतबार साउद मात्रै मन्त्री बने । सत्ता भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको थियो । तर जनमत पार्टीले मन्त्रालयमा चित्त नबुझाए राजीनामा दिएपछि उसले सम्हालेको खानेपानी मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट साउद सहित ५ मन्त्री भएका छन् । यस अघि कांग्रेसका चारजना गत चैत १७ गते मन्त्री बनेर सरकारमा गइसकेका छन् । नेता शेखर र गगन पक्षबाट मन्त्री बन्नेलाई पनि एकैपटक सपथ गराउने भनिएता पनि सभापति देउवाले प्रधानमन्त्री दाहाललाई साउदको मात्रै नाम पठाएका थिए । सुदुर पश्चिमबाट अरु धेरैले मन्त्री बन्ने आकांक्षा देखाएता पनि देउवा दाहिना हुँदा साउदले परराष्ट्रमन्त्री बन्ने सौभाग्य वाएका छन् ।

यस्तो छ साउदको राजनीतिक यात्रा

परराष्ट्रमन्त्री बनेका साउद २०१९ साउन २५ गते डडेल्धुरामा जन्मिएका हुन् । उनको पूरा नाम नारायणप्रकाश साउद हो । उनी नेपाल बिद्यार्थीसंघ मार्फत राजनीतिमा उदाएका हुन् । उनी २०३६ पछि नेपाल विद्यार्थी संघसँग जोडिएर अगाडि बढेका हुन् । २०४१ मा नेविसंघको केन्द्रीय सदस्य भएका साउद २०४३ मा नेविसंघको उपसभापति र २०४८ मा सभापति भएका थिए ।

त्यसपछि २०५३ बाट विद्यार्थी राजनीति छोडेर उनी कांग्रेसको राजनीतिमा लागेका हुन् । डडेल्धुराबाट कञ्चनपुर बसाइ सरेपछि २०५१ मा कञ्चनपुरको तत्कालीन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेर पराजित भएका थिए । तर २०५६ मा भने उनले कञ्चरपुर १ बाट जिते । २०५७ मा साउद शिक्षा तथा खेलकुद राज्यमन्त्री भए भने २०७० दोस्रो संविधान सभाको चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद भएर सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बनेका थिए । २०६१÷०६२ मा साउद नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । त्यस यता उनी लगातार केन्द्रीय सदस्य रहँदै आएका छन् ।