
काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।
मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन र सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न यहि वैशाख १८ गतेबाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो । यसअघि दुई पटक क्रमशः गत फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन र सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भएको थियो ।
त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए । चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन र अन्य पूर्वाधार संरचना निमार्णाधीन रहेको जानकारी दिएका थिए ।
अब दुईतर्फी सामान ढुवानी गर्न मिल्ने तथा मानिसहरू समेत आवातजावत गर्न मिल्ने गरी नाका खुलाउने सहमति भएको हो । बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए ।
प्रतिक्रिया दिनुहोस्