
काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरु नेपालभित्रै बस्ने बातावरण कहिले बन्छ ? भनि सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नेपालमा व्यवसायहरु धरासायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य बिना लामाले सुरक्षा निकायले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सुस्ता र गण्डकमा हरेक वर्ष हजारौँ परिवार डुबानमा पर्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई उठाउन आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानि अहिलेसम्म निर्माण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानी कसले बनाउने हो ? भनि प्रश्न गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले मिटरब्याज पीडित किसानहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरुको राम्ररी अभिलेख राख्नुपर्ने बताउनुभयो ।
उहाँले संसदमा सोधिएका प्रश्नहरुको सम्बन्धित मन्त्रीबाट जवाफ आए, नआएको पनि रेकर्डमा राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्