
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो ।
उहाँले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताउनुभयो । उहाँले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने बताउनुभयो । सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पार्नुभयो ।
उहाँले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताउनुभयो । उहाँले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर वहस गर्न सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्