
काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन् ।
ट्रेड युनियनहरूले यही बैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
साथै बैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको उनीहरुको भनाई छ ।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनीहरुको तर्क छ । कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
कर्मचारीहरूका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने युनियनको माग छ ।
प्रतिक्रिया दिनुहोस्