५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आज मातातीर्थ औंसी : आमाको सम्मान तथा श्रद्धा गरी मनाइँदै


507
Shares

काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, सनातन् धर्मावलम्वीहरुले आमाको सम्मान तथा श्रद्धा गरी यो पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमाको सम्मान तथा सम्झना गरी यो पर्व मनाउने गरिन्छ ।

आमाको मुख हेर्ने पर्वको प्रचलित यस पर्वमा टाढा टाढा रहेका छोराछोरीले आमालाई भेट्ने तथा विभिन्न मिष्ठान्न खान दिने चलन छ ।

भक्तिभावमा आचार्य तथा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति सम्मान र आदर प्रकट गर्ने र उनीबाट आशीर्वाद प्राप्त गर्ने दिनको रुपमा पनि शास्त्रमा यो पर्वको वर्णन गरिएको छ ।

आमा नहुने सन्तानहरुले बिहीबार बिहानै नुहाई धुवाई गरी आमालाई तर्पण र पिण्ड दिने तथा पुरोहितहरुलाई सिदा दान दिएर दिवङ्गत आमाको श्रद्धा गर्ने परम्परा छ ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमाको महिना ब्याख्या गरिएको छ ।

मातातीर्थ औंसीको अवसरमा काठमाडौंको मातातीर्थमा बिहीबार विशेष मेला लागेको छ । आमा नहुनेहरुले त्यहाँ रहेको कुण्डमा आमाको आकृति सम्झेर तर्पण तथा पिण्डदान गर्ने गर्दछन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

देशका अन्य तीर्थस्थलहरुमा पनि बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ । बिहीबार कै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।